काठमाडौं। बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ। यता लामिछाने जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन्। सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताउँदै आएका छन् ।
के हो मुद्दा- राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।
त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए। २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परेका थिए ।अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गएका थिए। २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो।त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परेका थिए। लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गएका थिए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दिएको थियो ।