धनगढी। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका नेता नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेकपा एमालेका नेता रामचन्द्र जोशीले उजुरी दर्ता गराएका हुन्।
नेकपा एमालेबाट अपांग कोटामा मनोनयन दर्ता गरेका रामचन्द्र जोशीले भट्ट अपांग नभएकाले उनको उमेदवारी खारेजीको मागगर्दै मंगलबार आयोग समक्ष उजुरी गरेका हुन ।‘नेपाली काँग्रेसका सभापती समेत रहेका भट्टले अहिलेसम्म अपांगता भएको परिचय पत्र नलिएको र उनी अपांग क्लस्टरबाट मनोनयन दर्ता गर्न नपाउने भएकाले उमेदवारी खारेजीको माग गर्दछु’ जोशीले गरेको उजुरीमा भनिएको छ ।
एमालेबाट मनोनयन दर्ता गरेका जोशीले अपांगता क्लष्टरमा पर्नका लागि स्थानीय तहका उपप्रमुख/उपाध्यक्षको नेतृत्वमा रहेको ९ सदस्यीय समितिले परिचयपत्र दिएको हुनुपर्ने दाबी गरे ।‘हरेक स्थानीय तहमा अपांगता भएका ब्यक्ति तोक्नका लागि उपमेयर/उपाध्यक्षको अध्यक्षतामा ९ सदस्यीय समिति हुने गर्छ । त्यस समितिमा चिकित्सक सहित अपांगता भएका ब्यक्ति वा संस्थाहरुको पनि प्रतिनिधित्व रहने गर्छ । त्यो समितिले चार प्रकारको अपांगता परिचय पत्र दिन्छ, तर भट्टले अहिलेसम्म अपांगता परिचयपत्र लिएका छैनन’ जोशीले तर्क गरे ।
राष्ट्रिय सभासदस्य निर्वाचन अन्तर्गत महिला/दलित/अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका उम्मेदवार नारायण दत्त भट्टको विरोधमा सोही समूहबाट मनोनयनपत्र दर्ता गराएका उम्मेदवार र उम्मेदवारको प्रतिनिधि रामचन्द्र जोशीले उजूरी दर्ता गराएको जनाईएको छ । भट्टले अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक हिजो मनोनयन दर्ता गराएका थिए।