धनगढी। सुदूरपश्चिम प्रदेश सभाका चार वटा संसदीय समितिका सभापतिको निर्वाचन पुस २५ गते हुने भएको छ । प्रदेश सभाले आइतबार जरुरी सूचना प्रकाशित गरेर सभापतिले निर्वाचनको जानकारी गराएको हो।
आइतबार प्रदेश सभाका सचिव देवबहादुर बोगटीले जारी गरेको सूचना अनुसार पुस २४ गते सभापतिका उम्मेदवारको मनोनयन र २५ गते निर्वाचन हुने भएको छ। यसअघि असोज १२ गते हुने भनिएको सभापतिको चुनाव अन्तिम समयमा स्थगित गरिएको थियो।
सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरेर चार वटा संसदीय समिति रहेका छन् । चार वटामध्ये सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दलबाट रहने व्यवस्था रहेको छ। प्रदेशले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार २४ गते मतदाता नामावली प्रकाशन गर्ने र २५ गते निर्वाचन गर्ने जनाइएको छ। २४ गते नै मतदाता नामावली माथि दाबी विरोध, अन्तिम नामावली प्रकाशन, सभापति पदमा निर्वाचन गर्ने प्रस्ताव दर्ता गर्ने निर्वाचन तालिका रहेको छ।
त्यस्तै २५ गते सभापतिको उम्मेदवार माथि दाबी विरोध, सभापति उम्मेदवारको अन्तिम नामावली प्रकाश र सभापति निर्वाचनको लागि बैठक प्रारम्भ निर्वाचन परिणाम घोषणा गर्ने जनाइएको छ। सुदूरपश्चिम प्रदेशका चार वटा विषयगत समितिलाई ६ वटा बनाउने गृहकार्य पनि भएको थियो तर, त्यसमा सहमति नभएपछि ४ वटै समितिको निर्वाचन गर्ने गरी प्रदेश सभा सचिवालयले तयारी गरेको हो।सुदूरपश्चिम प्रदेश सभा ५३ जनाको हुने भए पनि बझाङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना परेर मृत्यु भएकाले अब प्रदेश सभामा ५२ सदस्य रहेका छन्।