धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिएका छन्।
प्रदेशको आर्थिक विकासका लागि गेमचेन्जर परियोजनाको रूपमा रहेको पश्चिम सेतीको निरीक्षण गर्दै उनले परियोजना निर्माण कम्पनीका महाप्रबन्धक प्रकाशचन्द्र उपाध्यायलाई काम छिटो पूरा गर्न निर्देशन दिएका हुन्। ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनालाई भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्नेछ।
आयोजना अन्तर्गत राता पड, लुवाखडी सुरुङको काम गर्न माटो परीक्षणको कार्य थालिएको छ। माटो परीक्षण गर्ने कार्यको मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन्। पश्चिम सेती जलविद्युत परियोजना लगानी बोर्डबाटसमेत स्वीकृत भई आएकाले सुदूरपश्चिमबासीको सपना चाँडै पूरा हुने परियोजनाका महाप्रबन्धक उपाध्यायले बताए।
पश्चिमसेतीले रोजगारी सृजनाको गर्नुका साथै यहाँको आर्थिक विकासमा टेवा पुर्याउने उनको भनाइ थियो। निरीक्षण टोलीमा प्रदेश सभा सदस्य विक्रमसिंह धामी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा.हरिप्रसाद लम्साल,डोटीको शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायर रहेका थिए।