डडेल्धुरा। डडेल्धुरा घर भएका एक प्रहरी जवानको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।डडेलधुरा आलिताल गाउँपालिका—६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ।
हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलको ठक्करबाट ऐडीको मृत्यु भएको हो। पीटी दौडिँदै गर्दा मोटरसाइकलको ठक्करबाट घाइते भएका ऐडीको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै अरु दुई जना घाइते भएका छन्। मोटरसाइकलको ठक्करबाट प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र अर्का प्रहरी जवान विजय खत्री घाइते भएका छन्। मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन्। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।