जापानमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। अस्पताल र अधिकारीहरूका अनुसार दर्जनौं व्यक्ति घाइते भएका छन् । जापानको मध्य भागमा सोमवार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो।
इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४स्१० बजे मानिसहरूले नयाँ वर्ष मनाइरहेको समयमा भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको थियो । यद्यपि अहिले उक्त सूचना हटाइएको छ । भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने हजारौं मानिसहरू प्रभावित भएको बीबीसीले जनाएको छ ।
भूकम्पपछि हजारौं मानिसले उद्धार केन्द्रमा रात बिताएका छन्। शहरहरूमा केही भवनहरू भत्किएका छन्। भग्नावशेषमुनि मानिसहरू फसेका हुनसक्ने सीएनएनले जनाएको छ । भूकम्पपछि ४५ हजारभन्दा बढी घर विद्युतविहीन भएका छन्। जापानको पश्चिमी इशिकावा प्रान्तमा करिब ४५ हजार ७०० घरधुरी बिजुलीविहीन भएको समाचारमा उल्लेख छ ।