काठमाडौँ। अङ्ग्रेजी क्यालेन्डर अनुसार आज विश्वका विभिन्न मुलुक नयाँ वर्षको उत्सवमा छन् । तर, जापान भने नयाँ वर्षको पहिलो दिन नै दुःखद् घटनाको सामना गर्दैछ ।
जापानमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । त्यस यता ४ म्याग्निच्युडभन्दा ठुला २१ परकम्प गइसकेको बताइएको छ ।भूकम्प लगत्तै मौसम विज्ञान विभागका अधिकारीहरुले सुनामीको चेतावनी जारी गरेका छन्। समाचार एजेन्सीहरुका अनुसार इशिकावा प्रान्त सुनामीको खतरामा पर्ने आकलन गरिएको छ।
यहाँ तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। जापानको मौसम विभागले यहाँ पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ।इशिकावाको शुजु शहरमा केही घर र विजुलीका पोलहरू ढलेको जापानका सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । यसैगरी निगाता र टोया क्षेत्र पनि सुनामीबाट प्रभावित हुने अनुमान छ।
यी क्षेत्रमा तीन मिटरसम्म उचाइको लहर उठ्ने बताइएको छ। जापानको सबैभन्दा ठूलो आणविक ऊर्जा अपरेटर कान्साई इलेक्ट्रिक न्युक्लियर प्लान्टहरुमा भने भूकम्पले क्षति नपुर्याएको बीबीसीले जनाएको छ । जापानमा सन् २०११ मा भूकम्पपछि आएको सुनामीका कारण हजारौंको ज्यान गएको थियो। सुनामीका कारण परमाणु संयन्त्रमा पनि क्षति पुगेको थियो।