डडेल्धुरा। शिव शिखर सहकारी संस्था डडेल्धुराबाट पीडित बचतकर्ताहरूको आज (सोमबार) डडेल्धुरामा बृहत् भेलाको आयोजना हुने भएको छ। एक वर्ष अघिदेखि शिव शिखर सहकारीले बचतकर्ताहरूको रकम फिर्ता गर्ने पटक पटकको आश्वासन दिएपनि फिर्ता गर्न नसकेपछि बचतकर्ताहरूले भेलाको आयोजन गर्न लागेका हुन।
डडेल्धुराको उद्योग वाणिज्य सङ्घमा दिउसो १२ बजेबाट सुरु हुने भेलामा डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर लगायतका बचतकर्ताहरूको सहभागिता रहने जनाएको छ । डडेल्धुराबाट मात्रै ४० करोड निक्षेप सङ्कलन गरेर फरार रहेको शिब शिखर सहकारी विरुद्ध प्रहरी कार्यालय डडेल्धुरा मार्फत बचतकर्ताहरूले जिल्ला अदालत डडेल्धुरामा सामूहिक ठगीको मुद्दा दर्ता गराएको छ । सुदूरपश्चिमका चार जिल्ला डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा शाखा कार्यालय र मार्ट पसल सञ्चालन गर्दे आएको शिब शिखर सहकारीले झण्डै २ अरब रुपैयाँ सङ्कलन गरेर एक वर्षदेखि फरार भएर बचतकर्ताहरूको बिल्लिबाठ गरेको छ ।
आफ्नो बचत रकम फिर्ताका लागी पटक पटक पहल गर्दे आएपनि सरकारको उदासीनताका कारण बचत फिर्ताको पहल हुन नसकेको भन्दै डडेल्धुरामा भेलाको आयोजना गर्न लागेको सहकारी पीडित सङ्घर्ष समितिका डडेल्धुरा संयोजक मानबहादुर साउँदले जानकारी दिए । सहकारीले बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि सहकारी र मार्टहरूमा सरकारद्वारा गठित समस्याग्रस्त सहकारी समितिले शिल गर्दे कारबाहीको प्रक्रिया अघि बढाएको भनिएपनि बचतकर्ताहरू भने सन्तुष्ट छैनन् ।
शिब शिखर बहुउद्देश्यीय सहकारी संस्था पीडित सङ्घर्ष समितिका केन्द्रीय संयोजक लोकेन्द्र लम्साल र सुदूरपश्चिम प्रदेश संयोजक सुवास भट र चारवटै जिल्लाका संयोजकहरूको उपस्थितिमा भेलाको उद्घाटन गरिने जनाएको छ । शिब शिखर सहकारी समस्याग्रस्त सहकारी घोषणा गरिएको भएपनि बचतकर्ताहरूको रकम फिर्ताका सुनिश्चितता नभएको भन्दै पहिलो पटक सुदूरपश्चिमको प्रदेश स्तरीय भेलाका रुपमा डडेल्धुरामा गर्न लागिएको संयोजक साउँदले बताए । बचतकर्ताहरूको रकम फिर्ताका लागी यथाशीघ्र पहलकदमी लिनका लागी भेला बोलाइएको र भेलाबाट आगामी कार्ययोजना निर्माण गरि अघि बढ्ने जनाएको छ । शिब शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा रहेको भएपनि २० वटा जिल्लामा ३७ वटा शाखा कार्यालय स्थापना गर्दे सहकारी र मार्टहरू सञ्चालन गर्दे आएको थियो ।