कञ्चनपुर। कञ्चनपुरबाट काठमाडौँका लागि छुटेका बस बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको छ।
ना ५ ख ६६८४ नम्बरको उक्त बस आफै अनियन्त्रित भएर पल्टिएको ट्राफिक प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शनिबार राति सवा १० बजेको समयमा बाँकेको राप्तीसोनारी २ स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने झुरीखोला पुल नजिक बस दुर्घटनामा परेको हो ।उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरू मध्ये कञ्चनपुरको बेलौरी नगरपालिका ९ बस्ने २१ वर्षीय मिलन चौधरीको टाउको र निधारमा सामान्य चोट, सोही ठाउँका ३४ वर्षीय जगतराम चौधरीको शरीर र बायाँ हातमा सामान्य चोट, त्यसै ठाउँका २१ वर्षीय दिनेश चौधरीको दायाँ हातमा सामान्य चोट, लालझाडी गाउँपालिका २ बस्ने १८ वर्षीय उमेश रानाथारुको टाउको, बायाँ हात, खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै कृष्णपुर नगरपालिका ५ बस्ने ३६ वर्षीय बन्धुराम चौधरीको शरीरमा सामान्य चोट, डडेलधुराको अमरगढी नगरपालिका ७ बस्ने २४ वर्षीय डम्बर ताम्रकारको टाउको र कम्मरमा सामान्य चोट तथा अछामको कमलबजार नगरपालिका ६ बस्ने ३६ वर्षीय चेतराज भण्डारीको अनुहार, छाती र बायाँ कुममा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । फरार रहेका चालकको भने खोजतलास कार्य जारी रहेको बताइएको छ । अन्य यात्रुहरूलाई अर्को बस मार्फत गन्तव्यतर्फ पठाइएको छ ।