धनगढी। कैलालीको धनगढीमा जारी छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। बुधवार भएका अन्तिम २ क्वाटर फाइनल खेलमा बीएस १५ युवा क्लब र इलाइट युवा क्लबले जित निकालेपछि अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो।
स्टार सिटी र आयोजक फारवेष्ट पशुपति युवा क्लब यस अघि नै सेमिफाइनल पुगिसकेका छन् । बुधवार दिनको पहिलो तथा तेस्रो क्वाटर फाइनल खेलमा बीएस १५ युवा क्लबले सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। बीएसको जितमा हरिस कडायत र विदेशी खेलाडी ग्लोरीले १-१ गोल गरे । खेलको १३ औँ मिनेटमा हरिस कडायतको गोल मार्फत अग्रता बनाएको बीएसका विरुद्ध सुदूरपश्चिमका फागुराम चौधरीले त्यसको ४ मिनेट पछि गोल फर्काएर खेल बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिँदा दोस्रो हाफको २० औँ मिनेटमा इलाइटका विदेशी खेलाडी ग्लोरीले गरेको गोल निर्णायक भयो । खेलको म्यान अफ दी म्याच हरिस कडायत चुनिदा उनले नगद ५ हजार पुरस्कार र ट्र्रफी प्राप्त गरे । बुधवारको दोस्रो र अन्तिम क्वाटर फाइनल खेलमा इलाइट युवा क्लबले नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशमाथि ५-१ गोल अन्तरको फराकिलो जित दर्ता गर्यो । इलाइटलाई जिताउन हरिस भट्टले ह्याट्रिक गरे । उनले खेल सुरु भएको १० औँ मिनेटमै पहिलो गोल गरेर टिमलाई उत्साह तर्फ अघि बढाउँदा त्यसको १ मिनेटपछि ११ औँ मिनेटमा अर्को गोल गर्ने अवसर बनाए । खेलको ३५ औँ मिनेटमा टिमलाई विनोद केसीले थप एक गोलको योगदान गरेपछि पहिलो हाफमा नेपाल प्रहरीको टिम ३-० गोल अन्तरले पछि पर्यो।
दोस्रो हाफको ९ औँ मिनेटमा विनोदले आफ्नो ह्याट्रिक पुरा गरे । दोस्रो हाफको २० औँ मिनेटमा इलाइटका अनुज गैरेको गोल मार्फत फराकिलो अग्रता बनाएको टिम विरुद्ध नेपाल प्रहरीका सुरज महतोले दोस्रो हाफको २२ औँ मिनेटमा १ गोल फर्काए पनि त्यसपछिको खेल गोलरहित सकिँदा इलाइट फराकिलो जितसहित सेमिफाइनल पुगेको हो। खेलको म्यान अफ दी म्याच ह्याट्रिक ब्वाय विनोद घोषित भए । उनले नगद ५ हजार पुरस्कार र ट्र्रफी प्राप्त गरे।
प्रतियोगितामा बिहीबार सेमिफाइनलका खेल हुनेछन्। पहिलो सेमिफाइनलमा स्टार सिटी र बीएस १५ मध्यान्ह १२ बजे आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा दिउसो २ बजे आयोजक फारवेष्ट पशुपति युवा क्लब र इलाइट युवा क्लब भिड्नेछन्। शनिवार फाइनल खेल हुने छ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पुरस्कार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ।