काठमाडौँ। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा सुदूरपचिम प्रदेशले कर्णाली प्रदेशलाई ८१ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा तीन खेल खेलेको सुदूरपश्चिम प्रदेशको यो दोस्रो जित हो । एक खेलमा भने सुदूरपश्चिम प्रदेश पराजित भएको थियो । तीन खेल खेलेको कर्णाली प्रदेशको भने यो लगातार तेस्रो हार हो ।
टस जिती पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि कविता जोशीले अविजित ७८ रनको योगदान गरिन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी उनले केवल ५० बलको सामना गरी एक छक्का र १० वटा चौका पनि हिर्काएकी थिइन् ।
रेवती धामीले पनि टोलीका लागि अविजित २२ रनको योगदान गरिन् । उनले २४ बलमा दुई चौका प्रहार गरिन् । सम्झना खड्काले ११ र कप्तान रितु कनौजियाले १० रन बनाए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि २० रन पायो । कर्णाली प्रदेशकी बलर अञ्जु गुरुङले दुई विकेट लिइन् । यमुना थारु र रश्मी खड्काले पनि एक–एक विकेट हात पारे ।
ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओलिएको कर्णाली प्रदेशका लागि कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । तृषणा विश्वकर्माले सर्वाधिक २८ रन बनाइन् । उनले ३५ बलमा चार चौका प्रहार गरिन् । अञ्जु गुरुङले १० रन जोडिन् । रश्मी खड्काले पनि १० रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा १५ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर रितु कनौजिया र जानकी थापाले तीन–तीन विकेट लिए । कविता जोशीले पनि दुई विकेट हात पारिन् । मनिषा चौधरीले एक विकेट लिइन् । उक्त खेलमा कविता जोशी प्लेयर अफ दी म्याच घोषित भइन् ।