धनगढी। राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ। केन्द्रीय अध्यक्षले प्रदेश समितिसँग सहकार्य नगरेरै मनोमानी रूपमा कार्यक्रम गर्ने गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो।
विभिन्न ११ बुँदे माग राख्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो। ‘केन्द्रीय अध्यक्षले सुदूरपश्चिम प्रदेश समितिसँग सहकार्य नै नगरेर आफूखुसी सुदूरपश्चिममा आएर कार्यक्रम गरेका छन्,’ राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका कार्य समिति सदस्य नरेन्द्रप्रसाद जैशीले भने,‘सुदूरपश्चिम प्रदेशमा प्रदेश कार्यालय हुँदाहुँदै पनि यहाँ आएर प्रदेशलाई कुनै जानकारी नगरी कार्यक्रम गर्ने र आर्थिक अपारदर्शिता गरेकाले हामी त्यो गलत कार्यका विरुद्धमा छौँ।’
केन्द्रीय अध्यक्षले देशभरका प्रदेश समितिलाई सौतेनी व्यवहार गरेको बताउँदा उनले भने,‘प्रदेशमा कार्यक्रम गर्दा केन्द्रले आफूखुसी गर्ने र प्रदेशलाई फड्के किनाराका साछी बनाउने गरेको छ ।’ सुदूरपश्चिम प्रदेशले गरेको साधारण सभालाई पनि अध्यक्षले पूर्वाग्रही ढङ्गले मान्यता नदिएको आरोप पनि उनले लगाए। शासन व्यक्तिको नभई विधिको हुनुपर्ने बताउँदै उनले भने,‘अपाङ्गता भएका मानिसमाथि व्यक्तिगत राजनीति गर्न हुँदैन, सबैलाई समान व्यवहार गरिनुपर्छ ।’ केन्द्रीय अध्यक्षले सुदूरपश्चिम प्रदेशलाई सौतेनी व्यवहार देखाएकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएका हौँ ।