धनगढी। नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश र कञ्चनपुरको पुर्नवास युनाईटेड क्लबले एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको तेस्रो दिन भएका खेलमा जित हात पार्दै नेपाल प्रहरी सुप प्रदेश र पुर्नवासले क्वाटरफाईनलमा स्थान बनाएका हुन्।
धनगढी रंगशालामा भएको पहिलो खेलमा नेपाल प्रहरी सुप प्रदेशले ब्वाईज युनियन लम्की कैलालीलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको छ। प्रहरीको जितमा एक मात्रै गोल प्रदीप बोगटीले गरे । खेलको सुरुवातकै ८ मिनेटमा प्रदीपले गरेको गोल नै निर्णायक बन्यो। उनी खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन्।
धनगढी रंगशालामा भएको दोस्रो खेलमा पुर्नवास युनाईटेड विजयी भएको छ। पुर्नवास युनाईटेड ग्रीन युथ क्लबलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको हो। पुर्नवासको जितमा विदेशी खेलाडी काईटेमोन गाईडेनले निर्णायक गोल गरे। उनले पहिलो हाफको २६ औं मिनेटमा गोल गरेका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुर्नवासका गोलरक्षक कुम्भ देउवा म्यान अफ द म्याच भए । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन्।
प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा विएस १५ फुटबल एकेडेमी र शसस्त्र प्रहरी बल ७ नम्बर बाहिनी तथा दोस्रो खेलमा विदेशी टोली सिएफसी कोलकत्ता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ।