बैतडी। बैतडीको पाटन नगरपालिका-२ स्थीत एक घरमा आगलागी भएको छ। बुधबार राति साढे ११ बजे बैतडीको पाटन नगरपालिका-२ बिनोडास्थित जयन्ती पन्तको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट पन्तको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। दुईकोठा र एक भान्सा भएको काठको भुँइतले घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात,भाँडाकुडा,गरगहना र नगद २५ हजार जलेर नष्ट हुँदा ५ लाख बढीको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ।
भान्सा कोठामा बालेको आगो घरमा सल्किएपछि आगलागी भएको हो। जयन्ती पन्त र उनका दुई छोरा तल्लो घरमा रहेकाले मानवीय क्षति नभएको बताइएको छ। आगलागी भएको थाहा पाएपछि गाउँलेहरुले आगो निभाउने प्रयास गर्दा पनि घर बचाउन नसकिएको बताएका छन्।