धनगढी। धनगढीमा लागुऔषध सेवन गरी सवारी चलाउने २ जना पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी वडा नम्बर-२ मा ट्राफिक प्रहरीले शनिवार सवारीसाधन चेकजाँचका क्रममा लागु औषध सेवन गरी मोटर साईकल चलाइरहेका २ जनालाई पक्राउ गरेको हो।
धनगढी वडा नम्बर २ स्थित सडक खण्डमा दैनिक लागुऔषध परीक्षण किटको प्रयोग गरी सवारी साधन चेकजाँच गर्दा सु.प.प्र ०४-००१प १००० नम्बरको मोटरसाईकल चालक डडेल्धुरा अमरगढी वडा नम्बर ५ का २० बर्षीय आयुष घिमिरे र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ बर्षीय अशोक ताम्राकारलाई पक्राउ गरेको हो।
लागुऔषध परीक्षण किटको प्रयोग गरी चेकजाँच गर्दा लागु पदार्थ सेवन पोजेटिभ देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली जनाएको छ। उनीहरु दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको जनाइएको छ।