धनगढी। कैलालीको धनगढीमा प्रहरीले स्कारपियोसहित २३ लाखको अवैध सामान नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधवार २३ लाखको अवैध सामान नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय आगाडिबाट भारतबाट भन्सार छली गरि ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर क्षेत्रबाट विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिका बस्ने ३५ वर्षीय राजु देउवाले चलाएको ग २ च १७७ नम्बरको स्कारपियोमा अवैध सामान भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। स्कारपियोसहित भन्सार छली गरेर ल्याइएको २३ लाख ८ हजार ५ सय २० रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।