अछाम। अछामका चार बालकको बिचल्ली भएको छ। कामको खोजीमा भारत पसेका बाबु राम दमाई उतै हराएपछि र ७ महिनाका जुम्ल्याहा छोराहरू छोडेर आमा हिंडेपछि चार दाजुभाइको बिचल्ली भएको छ ।
१४, १० र ७ वर्षीय जुम्ल्याह छोराहरूलाई बाबुआमा हराएपछि ६ महिनायता हजुरबाले जेनतेन हुर्काइरहेका थिए । तर, उनको पनि निधन भएयता उनीहरू मागेर पेट भरिरहेका छन् । ‘आफ्नो वृद्धभत्ताले बाजेले हामीलाई पाल्नु भएको थियो । स्कुल पठाउन सक्दैन भनेपछि हामीले पढ्न पनि पाएनौं,’ १४ वर्षीय जेठा छोराले भने, ‘बाजेको अन्त्येष्टि भएको भोलिपल्टै गाउँका कोही साहुले तेरो बाजेले मेरो १० हजार लिएको छ भने कोहीले ५ हजार लिएको छ भन्दै घरमा भएका भाडाकुँडा, कुखुरा उठाएर लगे ।
हामीलाई एक छाक खान पनि केही बाँकी रहेन ।’जेठा छोराले हजुरबाको मृत्युपछि आफूहरू गाउँ छोडेर हिंडेको र कैयन् रात आफूहरूले जंगलमा बिताएको बताए । उनले भने, ‘राती जंगलमा धेरै डर लाग्थ्यो, त्यो बेला तीन भाइलाई काखमा च्यापेर रुँदै बस्थ्यौं ।’ उनीहरूले कहिले पाटीमा त कहिले मन्दिरमा रात बिताउने र दिउँसो मागेर पेट भर्ने गरिरहेका छन् । अछाम र डोटीको सिमानामा पर्ने बाडा गाउँकी एक महिलाले उनीहरूलाई अलपत्र अवस्थामा भेटेपछि आफूले घर लिएर एक महिना साहारा दिएको बताइन् ।
ती महिलाले उनीहरूलाई मामाघर पत्ता लगाएर पुर्याइदिएपछि मामाघरका बाजेले रक्सी खाएर कुटपिट गरेपछि आफूहरू दुई रातपछि फेरि सडकमै पुगेको उनीहरूले बताए । पछिल्लो समय उनीहरू मंगलसेन–६ मा रहेका आफन्तीको घरमा बसे पनि गरिब आफन्तीकहाँ उनीहरूलाई खान बस्नकै दुःख भइरहेको छ । वडाध्यक्ष देवेन्द्र भण्डारीले भौंतारिंदै आएका सहाराविहीन बालकहरूका बारेमा थाहा पाएपछि तत्काल वडाबाट खाद्यान्न र नगरपालिकाबाट लत्ताकपडा सहयोग गरेको बताए ।