बझाङ। सुदूरपश्चिमलाई भारत र चीनसम्म जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माणको काम अलपत्र पारिएको छ।
प्रदेशको समृद्धिको ढोका मानिएको चीनको तिब्बत जोड्ने चैनपुर–ताक्लाकोट सडकको काम आठ महिनादेखि ठप्प हुँदा निर्माण कार्य अलपत्र पारिएको हो। उक्त सडकको तल्कोट–रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ४० किमि सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीले सडक निर्माणको काम रोकेसँगै स्थानीय मजदुरले काम गरेको ज्यालासमेत पाएका छैनन् ।
सडक निर्माणको काम रोकिएपछि निर्माणमा प्रयोग भएका डोजर र अन्य निर्माण सामग्री रूपातोला र दुनिवन क्षेत्रमा अलपत्र रहेको तल्कोट गाउँपालिका–३ रूपातोलाका चट्टे बोहराले बताए । सडकका निर्माणका लागि आएको पैसा लगेर ठेकेदारले अन्तै खर्च गरेको भन्ने सुनेको उनले बताए। सडकमा ग्याबिन जाली निर्माण, मेसिनरी पर्खाल निर्माणलगायत काम गरेका १ सय ५० भन्दा बढी कामदारले पनि लामो समयदेखि ज्याला पाउन सकेका छैनन्।
सडकमा ज्यालाको रुपमा काम गर्दै आएका बोहराले अहिलेसम्म पनि दिएको ज्याला पाउन नसकेको बताए। यहाँका सबै मजदुरले पाउने २५ लाखभन्दा बढी रकम बाँकी छ । कसैकसैले पाँच वर्षदेखि काम गरेको रकम नपाएको बताए । सडक निर्माणको काम बन्द भएपछि मजदुरी गरेको ज्याला गुम्ने हो कि भन्ने चिन्तामा कामदार रहेको उनको भनाइ छ। बझाङको चैनपुरदेखि चीनको ताक्लाकोटसम्म ११७ किमिमध्ये अहिलेसम्म ४० किमि सडक मात्रै निर्माण भएको छ।
कुल ८५ करोड लागतमा ठेक्का सम्झौता गरेको स्वच्छन्द नागार्जुन जेभी कम्पनीले नेपाल सरकारबाट ६२ करोड भुक्तानीसमेत लिइसकेको छ । त्रिदेशीय व्यापारिक र पर्यटकीय प्रयोजनका लागि निर्माण भइरहेको यो सडक छिटो सम्पन्न गर्न सेती लोकमार्गअन्तर्गत उत्तरखण्ड ९चैनपुर ताक्लाकोट० मार्गको छुट्टै कार्यालयसमेत स्थापना भएको छ ।चैनपुर–ताक्लाकोट सडक आयोजना कार्यालय नाम दिइएको आयोजना कार्यलयमा आयोजना प्रमुख, दुई जना इन्जिनियर, दुई जना सबइन्जिनियर, लेखापाल तथा अन्य सहयोगी कर्मचारीको छुट्टै दरबन्दीसमेत छ। आठ महिनासम्म सडक निर्माण रोकिँदा पनि कार्यालयले ताकेता गर्न नसकेको स्थानीयले बताएका छन्।
प्रत्येक निर्वाचनमा बझाङका नेताले यही सडकलाई प्रमुख एजेन्डा बनाउने गरेको तर आठ महिनादेखि निर्माणको काम ठप्प हुँदा उनीहरू बेखबर रहेकोप्रति स्थानीयले रोष प्रकट गर्न थालेका छन् ।जयपृथ्वी क्याम्पसका सहप्राध्यापक लालबहादुर बोहराले चुनावका बेला ताक्लाकोट भनेर नथाक्ने नेताहरू यत्रो समय सडकको काम बन्द हुँदा कानमा तेल हालेर बसेको बताए । नेता, कर्मचारी र ठेकेदार मिलेमतो गरेर विकास निर्माणका काममा ढिलाइ गर्ने प्रवृत्तिका कारण सुदूरपश्चिमको विकासको सपना वर्षौंदेखि अधुरै रहेको उनले बताए। सडक निर्माणको काम छिटो गर्न उननले माग गरे ।
चैनपुर ताक्लाकोट सडक कार्यालयले ठेकेदार कम्पनीको आलटाले प्रवृत्तिका कारण निर्माणको काम रोकिएको बताएको छ। कार्यालय प्रमुख तुलाराम शर्माले कोरोनाका कारण जेभी कम्पनीका एक जना ठेकेदार ईश्वरी भट्टको निधन भएकाले पनि काम ढिला भएको बताए। त्यसपछि पनि काम छिटो सुरु गर्न ठेकेदारलाई भन्दा टार्ने काम गरिरहेको बताए । यस्तै ठेकेदार कम्पनीका प्रतिनिधि दिवाकर भट्टलेकोरानाले मुख्य ठेकेदारको मृत्यु भएको र बर्षातका बेला काम गर्न समस्या र म्याद थपसम्बन्धी प्रक्रिया काम रोकिएको बताए । अब कामले निरन्तरता पाउने उनले बताएका