धनगढी। कैलालीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्।विद्यालयमा भएको शिक्षकको सरुवा गरिएको विरोध र आवश्यक शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन्।
आन्दोलनरत विद्यार्थीले आज (बुधबार) धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन्। उनीहरूले धनगढी उपमहानगरपालिकाको गेटमा तालाबन्दीसमेत गरेका थिए ।विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी थप्नु पर्नेमा कटौती गरेर भएका शिक्षक पनि सरुवा गरिएपछि विद्यार्थी आन्दोलनमा उत्रेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए।
उनका अनुसार त्रिनगर माध्यमिक विद्यालयमा नौ जनाको दरबन्दी रहेको थियो। एउटा दरबन्दी कटौती गरिएपछि आठ जना शिक्षक कार्यरत छन्। विद्यालयमा दुई हजार ३८० जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ।