धनगढी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलालीको धनगढीमा पुगेका छन्। आज साँझ बुद्ध एयर मार्फत ओली धनगढी आएका हुन्।
१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलालीको धनगढीमा पगेका हुन्। अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू आएका छन्। अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बस्ने छन्। महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोली आउँदै छन्।
भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए। १४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन्। पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्। यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ। सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने एमालेले तयारी गरेको छ। प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने बताइएको छ।