धनगढी : अछाममा पालिकाले दिएको बजेटभन्दा तेब्बर खर्च बराबरको मन्दिर निर्माण भएको छ । अछामको चौरपाटी गाउँपालिका ४ पायलपित्रैना टोलमा युवाहरुले पालिकाको बजेटसंगै श्रमदान गरेर मन्दिर निर्माण गरेका हुन् । पायलपित्रैनाको श्री सोडसादेवी मन्दिर निर्माणका लागी चौरपाटी गाउँपालिकाले ५ लाख बजेट उपलब्ध गराएको थियो । सो रकमले चाहे जस्तो मन्दिर बनाउन सकिने स्थिती नरहेपछि गाउँले मिलेर श्रमदानबाट १५ लाख लागत बराबरको मन्दिर निर्माण गरेका छन् ।
मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष राम बहादुर खत्रीले मन्दिर राम्रो बनाउनुपर्ने तर बजेट कम आएपछि बजारबा खरिद गर्नुपर्ने समानमा पालिकाको बजेट खर्चेको र अन्य निर्माण कार्यमा गाउँले सबै जुटेको बताए । मिश्री, लेबर लगायत आवश्यक पर्ने सबै काममा गाउँलेहरु मिलेर श्रमदान गरेको उनले बताए । सोही श्रमदान गरेका कारण ५ लाख बजेटमा १५ लाख लागत लाग्ने बराबरको मन्दिर निर्माण गरेको उनले बताए ।