धनगढी। धनगढीका शेख मुनिर अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पालका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालय कैलालीबाट आज (आइतवार) नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पुरानो मुद्दा गाडी कब्जा गरेको अभियोगमा अहमद बयानका लागि जिल्ला प्रशासन कार्यालय कैलाली पुगेकोमा उनलाई त्यहीबाट समातिएको हो। बयानपछि जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी देवेन्द्रबहादुर पालले एक जनाको गाडी कब्जा गरेको आरोपमा उनलाई अनुसन्धानका लागि समातिएको बताए। आज (आइतवार) उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको एसपी पालले बताए। प्रहरीका अनुसार उनीविरुद्ध दर्जनौं मुद्दाहरु जिप्रका कैलालीमा दर्ता भएका छन्।
उनीविरुद्ध प्रहरीमा कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर,अभद्र व्यवहार लगायतका मुद्दा रहेको बताइएको छ ।केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा पक्राउ पर्ने भएपछि भागेर लुक्दै आएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनुवा कक्षमा राखिएको छ। पुराना मुद्दाको फाइलहरु खोल्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी देवेन्द्रबहादुर पालले बताए।