काठमाडौँ। आइतबार काठमाडौँको माइतीघर मण्डलामा सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा टिकटकरले प्रदर्शन गरेका छन्। उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ ? लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन् । टिकटकरहरुले प्रदर्शन गर्दै गर्दा सोमबार नै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदै छ।
टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ। अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।