धनगढी। कैलालीका ३ पालिकामा प्लास्टिकजन्य फुल मालामा प्रतिवन्ध लगाएपनी कार्यान्वयनमा चुनौती देखिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका,गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा प्लास्टिकजन्य फुल मालामा प्रतिवन्ध लगाइएको थियो।
ति पालीकामा प्लास्टिकजन्य फुल मालामा प्रतिवन्ध लगाएपनी बिक्री र प्रयोग भैरहेको पाइएको हो। जसकारण प्रभावकारी कार्यान्वयनमा चुनौती देखीएको हो। यस्तै नेपाली ब्यापारी तथा ग्राहकले किनमेल गर्न भारतीय बजारमा जाँदा प्लास्टिकजन्य माला, फुल खरिदबिक्री गर्ने भएकाले कार्यान्वयनमा चुनौती देखिएको छ।भारतीय बजार वनगाउँमा खुलेआम प्लास्टिकजन्य माला, फुलको कारोबार भैरहेको पाइएको छ। प्लास्टिकका फूल आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको भए पनि बजारमा भने चोरी पैठारी गरी त्यस्ता सामग्री बिक्री भइरहेकै छन्।
तिहारमा भारतबाट प्लास्टिकको फूलमालासँगै दियो, बत्ती, मैनबत्ती, झिलमिले बत्तीलगायतका सामानको आयात बढ्ने गरेको छ। धेरैजसो स्थानीयले आफ्नो घरबारीमा सयपत्री, मखमलीलगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुँदा धनगढीसहितका सहर बजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ। धनगढी उपमहानगरपालिकाले यसै आर्थिक वर्षमा प्लास्टिकजन्य वस्तु बिक्री र प्रयोग गरेको भेटिएकोले जरिवानामार्फत १ लाख ७० हजार रुपैयाँ राजस्व असुल गरिएको जनाएको छ।
उपमहानगरका सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख अशोक अवस्थीले अनुगमनको क्रममा कतिपय प्लास्टिकका फूलको व्यापार गरिरहेको भेटिएर जफत गरी जरिवाना गरिएको बताए । धनगढीभित्र प्लास्टिकका कुनै किसिमको कारोबार गरेको पाइएमा नगर प्रहरी खटाएर जफत गरी जरिवाना तिराउने गरेको उनले बताए ।यस्तै उता बर्दगोरिया गाउँपालिकाकाले पनी प्लास्टिकको फूलमालाले वातावरणमा समेत प्रतिकुल असर पार्ने भएकोले उत्पादन तथा प्रयोग नगर्न आग्रह गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले प्लास्टिक जन्य उत्पादन तथा प्रयोग नगर्न, नगराउन सूचना जारी गरिएको र कृत्रिम माला बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने उनले बताए।कैलाली जिल्ला भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि कात्तिकसम्म ६४ हजार ४२० रुपैयाँको १०७ क्विन्टल प्लास्टिक फूल आएको भएको थियो ।
कैलाली जिल्ला भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले आर्थिक वर्ष २०७७र०७८ मा १४ गुणा बढी भारतबाट आयात भएकोमा तिहारसम्म छ लाख ६२ हजार १८३ रुपैयाँको एक हजार ५७५ क्विन्टल कृत्रिम माला भित्रिएको थियो । त्यसपछि नेपालमा ४० माइक्रो एमएम भन्दा कमको प्लास्टिक आयात बन्देज लागेको बताए ।
उद्योगहरूले प्रयोग गर्ने –यापरको रोल, प्लास्टिक फर्निचर र भाँडालगायत सामानबाहेक प्लास्टिक ब्यागलगायत ४० माइक्रो एमएम भन्दा कमका प्लास्टिक आयात वातावरणीय सुरक्षाका लागि प्रतिबन्धित र प्लास्टिकको फूल पनि ल्याउन बन्देज लगाइएको बताए । धनगढीको सरसफाइ शाखा प्रमुख अवस्थीले अनुगमनको क्रममा कतिपय प्लास्टिकका फूलको व्यापार गरिरहेको भेटिएर जफत गरी जरिवाना गरिएको बताए । पछिल्लो समय जिल्लामा फूल खेती हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन । धनगढी उपमहानगरपालिकाले तिहारमा फूलको माग धान्नका लागि नगरभित्रका २६ जना किसानलाई तालिम दिएर फूलखेती गराउनुका साथै आफैँले पनि ११ कट्ठा जमिनमा फूलखेती गरेको छ । ती किसानले गरेको फूलखेतीबाट २० टन फूल उत्पादन हुने उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए ।