धनगढी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको सुरक्षाको जिम्मा नेपाली सेनाले लिने भएको छ । महासचिव गुटरेस यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लाग्नु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा नेपाल आउन लाग्नु भएका गुटेरेसको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको जिल्ला सुरक्षा परिषद् काठमाडौंले जनाएको छ ।
गुटेरेसलाई सुरक्षा दिन जिल्ला सुरक्षा परिषद् काठमाडौं र ललितपुरको बैठकले सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको हो । बैठकले पहिलो तथा भित्री घेरामा सेना बीचमा नेपाल प्रहरी र बाहिरी सुरक्षामा सशस्त्र प्रहरी रहने निर्णय गरेको छ ।
गुटेरेसले कात्तिक १४ गते संघीय संसदको संयुक्त बैठकलाई अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । भ्रमणका क्रममा गुटेरेसले राष्ट्रपति, प्रधानमन्त्री लगाएत देशका उच्च पदस्थ अधिकारीहरुसँग भेट गर्ने कार्यतालिका छ । भ्रमणकै क्रममा उहाँलाई अन्नपूर्ण र खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गराउने कार्यक्रम समेत तय गरिएको छ ।