धनगढी। भारतीय सिमावर्ती बजार वनगाउँ सामान किन्न गएकी नेपाली महिला भारतीय मोटरसाईकलको ठक्करबाट घाईते भएकी छिन्। कैलालीको धनगढी वडा नम्बर-३ बोराडाँडीकी ६८ बर्षिया देवकी धानुकलाई वनगाउँ बजार नजिकै भारतीय नम्बरको मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।
भारतीय नम्बरको मोटरसाईकलले ठक्कर दिएर मोटरसाईकलसहित चालक फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। उनले ठक्कर दिने मोटरसाईकलको नम्बर र चालक पत्ता नलागेको बताउँदै कैलालीको त्रिनगर प्रहरी र भारतिय प्रहरीको पहलमा अनुसन्धान भैरहेको बताए। मोटरसाईकलको ठक्करबाट हात र खुट्टा भाँचिएको देवकीको छोरा प्रकाश धानुकले बताए।
दैनिक उपभोग्य सामाग्री किन्न भारतको वनगाउँ गएकाहरुलाई वनगाउँबाट गौरिफण्टा नाकासम्म यात्रु ओसार्ने काम गर्दै आएका मोटरसाईकल चालकले हिँड्दैगरेको अवस्थामा आमालाई ठक्कर दिएर फरार भएको उनले बताए। दुर्घटनामा परी घाइते भएकी देवकीको धनगढीस्थीत मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाईकलको नम्बर चिनेको भए जानकारी गराईदिन उनले आग्रह गरेका छन्। घटनास्थल नजिकै धेरै नेपालीको उपस्थिती रहेकाले कसैले मोटरसाईकलको नम्बर पहिचान गरेको भए जानकारी गराई सहयोग गरिदन अनुरोध गरेका छन् । उनले आमाको हात र खुट्टा भाँचिएकोले डाक्टरले अप्रेसन गर्नुपर्ने भनेका उपचार गर्न आर्थिक अभाव रहेको बताएका छन्।