कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको परिवारले उनको खोजिकार्य गरी उद्धार गरिदिन सरकार र दूतावाससँग अनुरोध गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ३ घर भई कृषि विज्ञान विषयमा स्नातक तहको अध्ययन पश्चात् ११ महिनाको प्रयोगात्मक अभ्यासका लागि इजरायल गएका विपिनको अवस्था अहिलेसम्म अज्ञात छ। इजरायल घटनामा परी विपिन बेपत्ता भएका छन्। सरोकारवाला निकायसँग बुझ्दा अहिलेसम्म कुनै आधिकारिक जानकारी नपाएकोले यथाशीघ्र विपिनको अवस्था पत्ता लगाई उद्धार गरिदिन परिवारजनले अनुरोध गरेका छन्।
विपिनको घरपरिवार यति बेला भाव विह्वल भएको छ। घरका सबै सदस्य र छरछिमेकी तथा आफन्तजनको रुवाबासी भइरहेको छ। सिकाइसँगै कमाइ कार्यक्रमका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो।
उनीहरूमध्ये १७ जना नेपाली विद्यार्थी समेत रहेको फार्ममा आक्रमण हुँदा महेन्द्रनगरका विपिन जोशीको अवस्था अज्ञात छ। इजरायलमा भइरहेको द्वन्द्वमा अहिलेसम्म मारिएका १० नेपालीमध्ये ७ जना सुदूरपश्चिमका रहेका छन्। इजरायलस्थित नेपाली राजदूतावासले सञ्चारमाध्यालाई दिएको जानकारीअनुसार प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी अहिलेसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ।