धनगढी। त्रिभुवन विश्वविद्यालयले ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमको पाठ्यक्रम संशोधन भएको छ। पाठ्यक्रम संशोधन भएसँगै अब स्नातक तहमा होटल म्यानेजमेन्टको इन्टर्नसिपका लागि गएपछि फर्कनु नपर्ने भएको छ ।
अब पढाईं ३ वर्ष सैद्धान्तिक पछि लगातार १ वर्ष इन्टर्सिप हुनेछ। उक्त इन्टर्नसिप अवधि पूरा भएसँगै त्यही जागिर गर्न सकिने भएको छ। यसअघिको पाठ्यक्रम अनुसार विद्यार्थीहरु विदेशमा इन्टर्नसिप गइसकेपछि पुनस् फर्किएर थप एक सेमिस्टर अध्ययन गर्नुपर्थ्यो। अब भने लगातार ३ वर्ष पढेपछि विद्यार्थीहरु सिधैँ इन्टर्नसिपमा जान सक्नेछन्। उनीहरु फर्कनु पढ्दैन। इन्टर्नसिप सकाएर उतै जागिर गरेर बस्न सक्छन्।
सुदूरपश्चिममा त्रिविको बीएचएम अध्ययन हुने धनगढीको एसपीए कलेज एकमात्रै शैक्षिक संस्था हो। त्रिविको नयाँ पाठ्यक्रमले विद्यार्थीलाई ठूलो लाभ मिलेको एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले बताए ।पहिलेको पाठ्यक्रमले पढाईंकोबीचमा इन्टर्नसिप हुने र तारे होटलहरुमा आकर्षक इन्टर्नसिपको अवसर पाउँदा पनि फर्केर पुनस् पढाई सक्नुपर्ने बाध्यता थियो,भण्डारीले भने, नयाँ संशोधित पाठ्यक्रम अनुसार अब विद्यार्थी फर्कनुपर्दैन । यही ३ वर्ष अध्ययन सकेर विदेश जाने र उतै रोजगारीको सुनिश्चितता हुने भएको छ ।
एसपीएमा अध्ययनरत् विद्यार्थीहरु हाल अमेरिका, दुबई, कतार, बहराईन, मलेसिया, माल्दिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा पेड इन्टर्नसिप पाइरहेका छन् ।यस्ता इन्टर्नसिपले विद्यार्थीहरुलाई कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने बनाएको छ । हाल एसपीए कलेजमा नयाँ शैक्षिक शत्रका लागि भर्ना कार्यक्रम चलिरहेको भण्डारीले जनाए । १२ मा जुनसुँकै विषय अध्ययरत् विद्यार्थीहरुले बीएचएम अध्ययन गर्न पाउँछन् ।