बझाङ। बझाङ केन्द्रबिन्दु भएर मङ्गलबार गएको भूकम्पका कारण बिद्यार्थीको पठनपाठन प्रभावितभएको छ। भूकम्पका कारण बझाङमा अधिकांश विद्यालयका संरचना भत्किएपछि त्यहाँ विद्यालय बन्द गरिएका छन् ।
यसैबीच जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भोलि असोज १९ गतेसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको बिहीबार जानकारी दिए। १२ पालिका रहेको बझाङमा २७८ वटा सामुदायिक, २८ वटा संस्थागत र ८ वटा क्याम्पस रहेका छन । भूकम्पका कारण यहाँ अध्ययनरत ७१ हजार ६८ जना बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए ।
मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि सर्वसाधारण चौरमा पाल टागेर बस्दै आएका छन् । त्रासका कारण मानिसहरु घरभित्र समेत बस्न सकिरहेका छैनन् ।बझाङ केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् । अस्ति मङ्गलवार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प जाँदा बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी तीन सयभन्दा धेरै घरमा क्षति पुगेको छ । झण्डै ३२ वटा सरकारी कार्यालय तथा विद्यालय भवनमा पनि क्षति पुगेको छ ।