धनगढी। नेकपा एमालेको धनगढी स्थित सुदूरपश्चिम प्रदेश कार्यालय, जिल्ला पार्टी कार्यालय र धनगढी उपमहानगरपालिकाको पार्टी अफिसमा तालाबन्दी गरिएको छ।प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटमा नेकपा एमाले निकटकै युवा नेताहरुले पार्टी कार्यालयहरुमा ताला लगाएका हुन्।
एमाले कैलालीको जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका किशोर शाहले आज (मंगलबार) पार्टी अफिसहरुमा ताला लगाइएको बताए। उनका अनुसार युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको हो।
धनगढी सहित जिल्ला र बाहिरका विभिन्न क्षेत्रमा नेताहरुले भुगोलमा रहेका युवा नेता, कार्यकर्तालाई छोडेर अन्यलाई प्रतिनिधि बनाइएको तालाबन्दी कर्ताहरुको आरोप छ। यहीँ असोज २१ र २२ गते धनगढीमा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशन तोकिएको छ।