काठमाडौं। सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ। शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको सहमतिमा राहत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ।
परीक्षामा उत्तीर्ण भएका शिक्षकहरु स्थायी हुनेछन् भने अनुत्तीण भएका शिक्षकहरुलाई सरकारले आर्थिक प्याकेज दिनेछ। संसदमा दर्ता भएको विधेयकमा भने आन्तरिकतर्फ ५० प्रतिशत कायम गर्ने उल्लेख थियो भने ५ असोजमा शिक्षक महासंघसँग भएको ६बुँँदे सहमतिमा ७५ प्रतिशत पुर्याउने उल्लेख थियो। त्यसमा असहमत राहत तथा बालविकास शिक्षकहरुले आन्दोलन जारी राखेपछि सरकारले वार्ता थालेको थियो।
संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० दिनयता आन्दोलनमा उत्रेका थिए। सरकारले शिक्षक महासंघसँग गत शुक्रबार सहमति गरेपनि राहतले आन्दोलन जारी राखेका थिए। नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईकाअनुसार आन्दोलनरत पाँच वटा संगठनसँग सरकारले अलग अलग वार्ता गरेर सहति गरेको हो । जसमा राहत, बालविकास,पेन्सनबाट वन्चित र विद्यालय कर्मचारी रहेका थिए ।