धनगढी। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’को निधन भएको छ। कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका उनको गएराति निधन भएको हो।
माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लैंजादै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका नेताले बताएका छन्।
माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने रुपान्तरण अभियानका क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या देखिएपछि कैलाली फर्किएर उपचारमा लागेको र यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउमा लैजादै गर्दा बाटोमै निधन भएको माओवादी केन्द्रका प्रदेश पार्टी कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए । बडुवालको आजै कर्णाली चिसापानीमा अन्त्यष्टि गरिने उनले जानकारी दिए । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा उनी ‘महेश’ डोटीको जोरायल गाउँपालीका र बडीकेदार गाउँपालीकाको कमाण्डर भएर अभियानमा लागेका थिए।
कैलालीको लम्कीचुहा नगरपालिका–५ निवासी बडुवाल जनयुद्धकालदेखि पार्टीको इमान्दार सिपाईको रुपमा जिम्मेवारी पूरा गर्दै आएका आएका थिए । वि.सं.२०३९ साल माघ २१ गते बुवा खडकबहादुर र आमा जमुनादेवी बडुवालको कोखबाट जन्मिएका महेश पाँच भाइमध्ये काइला हुन्। महेश संविधानसभा सदस्य भगत बडुवालका सहोदर भाइ हुन् ।२०५४/५५ सालदेखि राजनीतिक यात्रा सुरु गरेका महेश मिजासिला, सर्वप्रिय, मिलनसार, पार्टी प्रति निष्ठावान,अहिलेसम्म कहीँ कतै खोट नलागेको असल नेताका रुपमा रहेको कार्यालय सचिव भट्टराईले बताए।
पार्टीले क्रान्तिकारी,विद्रोही स्वभावका कुसल नेता गुमाएको उनको भनाइ छ । विद्यार्थीकालमा लम्कीस्थित जनजागृति माविबाट स्कुल कमिटीको अध्यक्ष हुँदै राजनीतिमा लागेका महेश जनयुद्धको क्रममा २०५६ फागुन १८ गते शिक्षा क्याम्पस सर्खेतमा प्रविणता प्रमाण पत्र तह पढ्ने क्रममा गिरफ्तार भइ २०५८ माघ २ गते जेल ब्रेकका योद्धाका समेत हुन् । महेशले पार्टीको पूर्णकालिन सदस्य भइ १६ औँ राष्ट्रिय सम्मेलनबाट बैकल्पिक केन्द्रीय सदस्य हुँदै केन्द्रीय सदस्यसम्मको भूमिका निर्बाह गरेको माओवादी केन्द्रले जनाएको छ । बडुवालले २०७१ साल असोज २० गते डोटीको जोरायलमा भएको बस दुर्घटनामा श्रीमति र छोरा गुमाएका थिए । यसपछि अर्को विवाह गरेका महेशका हाल श्रीमति र एक छोरी छन्।