धनगढी। कैलालीको गोदावरी नगरपालिका-९ बाट प्रहरीले पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
कैलालीको खुटिया खोलामा अवैध रूपमा नदिजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा पाँच वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार राति सवा २ बजेको समयमा गोदावरी नगरपालिका-९ सेहरी र मुरकट्टी स्थित खुटिया खोलामा अवैध उत्खनन गरिरहेका ट्याक्टर इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको हो।
ईप्रका मालाखेतीको प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले अवैध रूपमा ढुंगा र बालुवा चोरी गरिरहेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिइएको बताए। उनका अनुसार भे १ त ६०२२, सु.प.प्र.०१००२ त ५३१८, से १ त ७४९६, सु.प.प्र.००२ त ५७६७ नम्बरको ट्याक्टर ईन्जन र ट्राली सहित र लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली मात्र नियन्त्रणमा लिइएको जानकारी दिए। नियन्त्रणमा लिइएका ट्याक्टरमाथि अनुसन्धान गरेर आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ।