काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।
कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन् । पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाएका छन् । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ। पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन्। क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन्।
सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन्।अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको छ। त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रूपमा विजयी भएका छन्। प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन्।