कैलाली। कैलालीमा विगत छ वर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको छ। कैलालीको पथरैया नदीमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माण कार्य छ वर्षदेखि अलपत्र परेको हो। लम्कीचुहा नगरपालिका-९, सोनपुर र जोशीपुर गाउँपालिकाको सिमराना जोड्ने पुल निर्माण कार्य शुभारम्भ नहुँदै अलपत्र परेको स्थानियले बताएका छन्।
पुल बनाउनका लागि खाल्डो खनिएको तर अन्य बाँकी काम नगरी निर्माण कम्पनी विगत छ वर्षसम्म सम्पर्कविहीन बनेको स्थानीयवासीको आरोप रहेको छ। सङ्घीय सरकारको लगानीमा उक्त नदीमा पुल निर्माणका लागि २०७४ सालमा ठेक्का सम्झौता भएको थियो। करिब ५२ मिटर लामो पुल बनाउन एडभेन्चर कन्स्ट्रक्सन प्रालिले छ करोड ७३ लाख रुपियाँ लागतमा ठेक्का पाएको हो।
तर निर्माण कम्पनी खाल्डो खनेर फरार भएको आरोप स्थानीय पालिकावासी समेत रहेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले बताएका छन्। यसअघि पुल निर्माण अवधि सकिने बेला हुनै लाग्दा स्थानीयवासी तथा जनप्रतिनिधिले निर्माण कम्पनीका सञ्चालकलाई बारम्बार घचघचाए पनि कुनै सुनुवाइ नै नभएको उनको भनाई छ।
उनले पुल निर्माण कार्य सम्पन्न गर्न सङ्घीय सदनमै आवाज उठाएको बताए। अब ठेक्का पाएको निर्माण कम्पनीसँग सम्झौता तोडेर भए पनि पुल निर्माण गर्नुपर्ने उनको भनाइ छ। सकेसम्म अहिलेकै निर्माण कम्पनीले पुल बनाओस् भन्ने चाहना रहेको बताए। उनले यदि यस्तै ढिलासुस्ती हुन्छ भने सम्झौता तोडेर पुल बनाउन लाग्ने प्रयास रहने बताए। लम्कीचुहा नगरपालिकाको सोनपुर र जोशीपुर गाउँपालिका जोड्ने स्थानमा पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्। उनीहरूले यथाशीघ्र पुल बनाउन ठेकेदारलाई आग्रह गरेका छन्।
निर्माण कम्पनीका प्रबन्ध निर्देशक चन्द्रशेखर मल्ल चालु आर्थिक वर्षको असार मसान्तसम्म पुल बनाइसक्ने बताउँछन्। विविध कारणले विगतमा पुल बनाउन नसकेको स्वीकार्दै उनले यो आर्थिक वर्षभित्र पुल निर्माण हुने बताए। विगतमा जे जस्तो भएपनी अब पुल बन्ने उनले दाबी गरेका छन्। सडक डिभिजन कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षमा पुल निर्माणका लागि ३४ लाख रुपियाँ बजेट विनियोजन भएको जानकारी दिएको छ।
कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले ६ वर्षसम्म पुल निर्माण कार्य अलपत्र पारेको ठेकेदार सम्पर्कमा आएकाले यो वर्ष पुल निर्माण हुनेमा आफू ढुक्क रहेको बताए। तर स्थानिय बासीले ६ वर्षसम्म पुल निर्माण कार्य अलपत्र पारेको ठेकेदारले जसरी पनी निर्माण गर्नुपर्ने बताएका छन्। निर्माण कम्पनीले काम गर्ने/नगर्ने बारेमा भने स्थानिय ढुक्क छैनन्। निर्माण कम्पनीले पटक-पटक काम गर्ने बताएपनी अब पुल निर्माण नगरिए कार्वाही गर्नुपर्ने स्थानियको भनाई छ।