धनगढी। सुदुरपश्चिम प्रदेश सभा गठन भएको दश महिना पुरा हुनलाग्दा सभामुख भीमबहादुर भण्डारीले सरकार हराएको गुनासो गरेका छन् । प्रदेशसभालाई विजनेस दिन नसकेकोमा सभामुख भण्डारीले प्रदेश सरकार हराएको आभास भइरहेको उनले बताए ।
युएनडिपी– संसद सहयोग परियोजनाको सहकार्य तथा सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको संसदमा खुलापनको अभ्यास पत्रकार अन्तरक्रिया कार्यक्रममा सभामुख भण्डारीले भने –‘अब सञ्चारकर्मीहरुले प्रदेश सरकार हरायो की भनेर लेखौं । प्रदेशका जनताको सर्वोच्च संस्था हो प्रदेश सभा । तर, सरकारले ऐन, कानुन निर्माण नगर्दा सभाका बैठक बस्न सकेका छैन् ।’
भदौ ४ गते बसेको दोस्रो अधिवेशनको २२ औं बैठकमा सभामुखले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । सभामुख भण्डारीले भने –‘सभाले आफै केही गर्न सक्दैन । कानुन निर्माण गर्ने जिम्मा सरकारको हो । सभालाई विजनेस दिने पनि उनीहरुनै हुन । तर, सरकार मौन छ ।’ उनले पटक–पटक सरकारसंग आग्रह गर्दा समेत नसुनेको गुनासो गरे ।
उनले सरकारको कमजोरीका कारण प्रदेश सभा सदस्य तथा सभामुखहरुले आलोचना खेप्नुपरिरहेको बताए । उने संघिय सरकार र स्थानीय तहको कमजोरीका कारण पनि प्रदेशमाथिनै दोष आइरहेको बताए । उनले भने –‘संघिय सरकारले कानुन बनाउँदैन् । स्थानीय तहहरुमा पनि वेथिति छ । त्यसको अचानो प्रदेश बनेको छ ।
उनले मुख्यमन्त्री तथा पदाधिकारीले लिइरहेको सेवा सुविधामा पनि प्रदेश सभा सदस्य सबै दोषी बन्नुपर्ने अवस्था रहेको बताउँदै –‘सेवा सुविधा मुख्यमन्त्री, मन्त्री र संसदीय दलका नेताहरुले लिइरहेका छन् । समाचार सेवासुविधामै केन्द्रित बने माननियहरु । माननियहरुलाई जबकी यो बारेमा केही थाहा हुँदैन् । जनतामा प्रवाह गर्ने सन्देश यथार्थपरक हुनुपर्छ ।’
नेपाली काँग्रेसका प्रदेश सभा सदस्य मेखराज खडकाले प्रदेश संरचना जोगाउन नसके संविधाननै खतरामा पर्ने बताए । उनले भने –‘संघियता अघिनै संघ र स्थानीय तहको संरचना थियो । अहिले प्रदेश संरचना छ । यो नयाँ अभ्यास हो । संविधानले परिकल्पनाको यो नयाँ अभ्यासमाथि प्रश्नहरु आइरहेका छन् । यही संरचना भत्काउने हो भने संविधाननै संशोधन गर्नुपर्ने अवस्था आउँछ ।’उनले प्रदेश सभाले बनाउनुपर्ने ऐनहरु थुप्रै रहेको भएपनि संघले प्रदेशलाई आवश्यक पर्ने ऐन निर्माण नगर्दा प्रदेशमा समस्या भइरहेको बताए ।
उनले सञ्चारकर्मीहरुलाई सुशासनका पक्षम विवेक पुर्याएर कलम चलाउनु अनुरोध गरे । प्रदेश सभा सदस्य पदमबहादुर शाहीले आफ्ना हुँदा ठिक र नहुँदा बेठिक भन्ने प्रवृतिले सुदूरपश्चिम प्रदेश समृद्ध हुन नसकिरहेको बताए । उनले भने –‘सुदूरपश्चिम प्रदेशमा थुप्रै सम्भावना छन् तर, किन विकास हुन सकेको छैन भन्नेबारे समिक्षा हुन जरुरी छ ।’ उनले संघिय सरकारले हरेक विकास पूर्वाधारका कार्यहरु पूर्वबाट सुरु गर्दा पनि यी समस्या भइरहेको बताए ।कार्यक्रममा सञ्चारकर्मीहरुले प्रदेश सभालाई मिडियामैत्री बनाउन, विषयगत समितिका बैठकको अवलोकन गर्न पाउनुपर्ने, सचिवालयका हरेक गतिविधिबारे सहज सूचनाको पहुँच बनाउन, मनोमानी ढंगका खर्च कटौति गर्न, सचिवालयले सरकारको निगरानी गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रमको सहजिकरण वरिष्ठ पत्रकार मनमोहन स्वाँरले गरेका थिए ।