कैलाली। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ पटेला स्मार्ट क्लब उपाधि नजिक पुगेको छ।
आयोजक न्यु युवा सुन्दर शक्ती युवा क्लबलाई सेमिफाईनलमा फराकिलो अन्तरले हराउँदै पटेला स्मार्ट उपाधि नजिक पुगेको हो। पटेला स्मार्टले आयोजक न्यु युवा सुन्दर शक्तीलाई सेमिफाईनलमा ५–० ले हराउँदै फाईनलको यात्रा तय गरेको हो।
न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलहरुमा भने ईलाईट युवा क्लब र सागर युवा क्लब दोस्रो चरणमा प्रवेश गरेका छन्। पुरुष तर्फको पहिलो खेलमा सागर युवा क्लबले जेवाईसी अत्तरियालाई हरायो। सागरले जेवाईसीमाथि १–० को जित निकाल्यो। कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँको खेल मैदानमा भईरहेको प्रतियोगिताकोपुरुष तर्फको दोस्रो खेलमा ईलाईट युवा क्लब विजयी भयो।
ईलाईटले नेपाल पुलिस क्लबलाई हरायो। ईलाईटले पुलिसमाथि पनि १–० को साघुरो जित दर्ता गर्यो। पुरुष तर्फको तेस्रो खेलमा कैलारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयको टीम विजयी भयो । वडा नम्बर ३ ले कमल युवा क्लबलाई हरायो। वडा नम्बर ३ ले कमल युवा क्लबमाथि १–० को जित हात पार्यो। नकआउटका आधारमा भईरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको छ भने महिला तर्फ ६ टीमको सहभागीता रहेको छ।
पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए। यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन्। प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ। वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ।