धनगढी : कैलालीको धनगढीस्थित स्वास्थ्य सेवा प्रवाह गरिरहेका दुई नीजि अस्पताललाई जिल्ला प्रशासन कार्यालयले बन्द गर्न भन्दै पत्र पठाएको छ । मंगलबार दुई अस्पतालको अनुगमन गरेपछि प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल बुधबारभित्रै बन्द गर्न भन्दै प्रहरीलाई निर्देशनसहितको पत्र पठाएको हो ।
जिल्ला अनुगमन समितिको अनुगमनका क्रममा ती अस्पताल कम्पनी रजिष्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता गरेका भए पनि अस्पताल सञ्चालनका अनुमति दिने निकायबाट स्वीकृति नलिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ ।