कञ्चनपुर। कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा कार्यालय समयमा कर्मचारी नआएपछि गाउँपालिका अध्यक्षले ढिला आउने कर्मचारीलाई फिर्ता पठाएका छन।
गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले कर्मचारीहरु कार्यालय समय भन्दा ढिलो आउने र छिट्टै कार्यालयबाट बाहिरिने गुनासो आएपछि सोमबार ढिलो आउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएको बताए । “कार्यालय समयमा कर्मचारीहरु नसबस्ने,ढिलो गरि आउने गरेको भन्ने नागरिकको लिखित र मौखिक गुनासो आएको थियो ।”
अध्यक्ष रानाले भने–“सिसिटिभि र ईहाजिरि हेर्दा समेत कर्मचारीहरु ढिलो आउने र छिट्टै जाने गरेको पाइएपछि आज ढिलो आउने कर्मचारीलाई कार्यालय प्रवेश दिएनौ ।” उनका अनुसार ४० जना कर्मचारी मध्ये कार्यालय समयमा चार जना मात्रै उपस्थित भएका थिए । सोमबार कर्मचारीहरु कार्यालयबाट फिर्ता भएपछि कार्यालयको काम प्रभावित बनेको छ ।