काठमाण्डौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् पार्टीका संस्थापक नेता बीपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताए ।
पार्टीले आयोजना गरेको आज आइतवारदेखि प्रारम्भ भएको तीन दिने ‘बीपी साहित्य महोत्सव’ को उद्घाटन समारोहमा सभापति देउवाले बीपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे। उनले भने, ‘उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षेत्रको रूपमा आज पनि स्थापित हुनुहुन्छ। उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छौँ।’
बीपीकै चिन्तनले देश समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उहाँले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बीपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताए। महोत्सवले बीपीले प्रतिपादन गरेको राजनीतिक विचार, उहाँका साहित्यिक कृति, उहाँले भोग्नु परेका सङ्घर्षमय जीवन गाथा र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गरे।