कैलाली। धनगढीमा विद्युतीय धरापमा परेर महिलाको मृत्यु भएको छ। जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर धनगढी–३ की ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका-३ होल्डिङ सेन्टर नजिकै बस्ने मञ्जुको सोमबार राती करिब ११ बजेतिर विद्युतीय धरापमा परेकी थिइन्। जंगली जनावरबाट धानबाली बचाउनका लागी खेतको आलीमा छाडेको करेन्टमा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सन्तोष बस्यालले करेन्ट लागेर घाइते भएकी कुँवरको उपचारको क्रममा सोही राति ११ बजेर ५५ मायामेट्रो अस्पताल मृत्यु भएको बताए।मृतक महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ। जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा स्थानीयले करेन्ट छाडेका खुलेको प्रहरीले जनाएको छ।
जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ। प्रहरीले खेतमा विद्युतीय धराप राखेका चौधरीलाई पक्राउ गरेको छ। चौधरीले जंगली जनावरबाट धानबाली जोगाउन करेन्ट छाडेको बयान दिएको प्रहरीले जनाएको छ।राति महिला के-कति कारणले करेन्ट प्रवाह गरेको ठाउँमा पुगेकी थिइन् भन्ने कुरा नखुलेको प्रहरीको भनाइ छ । प्रहरी स्रोतकाअनुसार घटनास्थलमा केही अवैध सामान भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।