डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश बहादुर देउवाले प्रदेश सरकारले बजेट कार्यान्वयनको शैली फेरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे मन्त्री देउवाले यस्तो बताएका हुन।
‘असारमा बजेट आउने र फागुनमा ठेक्कामा जाने परीपाटीको अन्त्य गर्नका लागि हामी सक्रिय छौं,’ मन्त्री देउवाले भने, ‘योजना छनोट र बजेट ल्याउने प्रक्रियादेखि नै हामीले पूरानो शैली परिवर्तन गरेका थियौं। अहिले बजेट कार्यान्वयनमा पनि फरक शैलीमा गर्दैछौं ।’विगतमा योजना कार्यान्वयनमा ढिलाई हुने समस्या रहेको बताउँदै उनले समयमै योजना कार्यान्वयनका लागि प्रदेश सरकार र मातहतको कार्यालय लागिपरेको बताए ।
‘अहिलेको सरकारले कुनै पनि योजना झ्यालबाट ल्याएको छैन,’ उनले भने, ‘सबै तल्लो तहबाट आएका योजना प्रदेश सरकारको बजेटमा अटाएका हुन्। अब ती योजना समयमै कार्यान्यन हुन्छन्। ’मन्त्री देउवाले अहिलेको प्रदेश सरकार जनताल महसुस गर्ने गरी काम गरिरहेको पनि दाबी गरे। लामो समयसम्म योजना अलपत्र पारेर राख्ने केही निर्माण व्यवसायीका कारण समस्या आएको बताउँदै मन्त्री देउवाले यसपटक भने निवेदन दिएकै भरमा म्याद थप नगर्न मातहतका कार्यालयलाई निर्देशन दिइसकेको बताए।
मन्त्री देउवाले डडेल्धुरा जिल्लामा सधैँ राम्रो बजेट आउने तर कार्यान्वयनमा समस्या हुने गरेको बताए। ‘यो जिल्लामा सधै राम्रो बजेट आउँछ,’ उनले भने, ‘तर सधैँ बजेट फ्रिज जाने समस्या छ। यसमा कार्यान्वयन गर्ने कार्यालय र निर्माण व्यवसायी सबैभन्दा बढी दोषी छन् ।’ यस्तै मन्त्री देउवाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालय प्रमुखलाई समयमै योजना कार्यान्वयन गर्न निर्देशन दिएका छन् । खानेपानी तथा सरसफाई डिभिजन, यातायात व्यवस्था कार्यालय र पूर्वाधार विकास कार्यालयको गतिविधिबारे जानकारी लिँदै मन्त्री देउवाले चालू आर्थिक वर्षका योजना समयमै कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।