धनगढी। धनगढीमा आज देखी गौरा महोत्सव तथा प्रादेशिक खुल्ला डेउडा प्रतियोगिताको सुरु भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा ३ दिने सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता सुरु भएको हो।
भदौ १४ ,१५ र १६ गतेसम्म धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा गौरा महोत्सव तथा प्रादेशिक खुल्ला डेउडा प्रतियोगिता सञ्चालन गरिने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादूर बोगटीले बताए। आज कार्यक्रमको सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपटबहादूर साउँदको प्रमुख आथित्यतामा प्रतियोगिता उद्घाटन गरिएको छ।
डेउडा प्रतिष्ठानका महासचिव तोयप्रसाद भट्टले ‘भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा ८ औं पटक गरिन लागेको बताएका छन्। डेउडा प्रतियोगितामा प्रथम हुनेलाई नगद २१ हजार,द्वितीयलाई नगद १५ हजार, तृतीयलाई नगद ९ हजार र सान्त्वनालाई नगद ५ हजारका साथै प्रमाणपत्र प्रदान गरिने छन्। हरेक दिन एक जना उत्कृष्ट डेउडियालाई नगद पुरस्कार पनि प्रदान गरिने प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टि एन जोशी बताएका छन्।