डोटी। डोटी सायलका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। भ्रष्टाचारको आरोपमा निलम्बनमा रहेका डोटीको सायल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटा सहित ७ जना कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीले सफाइ पाएका हुन्।
आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन रकमबाट सायल गाउँपालिका-५ को मेल्लेख चपन्ना सडक निर्माणको कार्य नगरेरै मिलेमतोमा रकम भुक्तानी दिई अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साल असार २८ गते बिशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा, ईन्जिनियर किरण सागर भण्डारी, लेखापाल दिपक कार्की, गाउँपालिकाको वडा नम्बर ५ का तत्लकालीन वडाध्यक्ष गणेशवहादुर बोगटी, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्मा कुमारी वोगटी ‘खड्का’ बिरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले मेल्लेख चपन्ना सडक निर्माणको कार्य नगरेरै १४ लाख ३४ हजार २८६ रुपैयाँ भुक्तानी गरेको भन्दै सात जनाका बिरुद्ध मुद्धा दायर गरेको थियो।
गैरकानूनी तरिकाले रकम भुक्तानी दिई सरकारलाई हानीनोक्सानी पुर्याएको भन्दै तीन जना कर्मचारीहरुलाई जनही १४ लाख ३४ हजार २८६ रुपैयाँ बिगो कायम गरि सोही बमोजिम जरिवाना र कैद हुनुपर्ने अख्तियारको मागदाबी रहेको थियो। अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेपछि तीनै जना कर्मचारीहरु निलम्बनमा परेका थिए। मंगलबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, सालिग्राम कोईराला र बलभद्र बास्तोलाको संयुक्त ईजलासले उनीहरुलाई सफाई दिएको हो। सो मुद्दामा विपक्षी बनाइएका वडाध्यक्ष उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई पनि विपक्षी बनाईएको थियो। उनीहरुलाई जनही १४ लाख ३४ हजार २८६ रुपैयाँ बिगो कायम गरि सोही बमोजिम जरिमाना गर्नु पर्ने माग दाबी थियो । विशेष अदालतले उनीहरुलाई समेत सफाई दिएको हो।