धनगढी। बझाङको मष्टा गाउँपालिका भातेखोलाकी गिठीदेवी जोशीले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छन्। भातेखोला गाउँमै पर्ने गाउँपालिकाको कार्यालय रहेपनी गिठीदेवीले हिजो शुक्रबार मात्रै नागरिकता पाएकी हुन् ।
उनी नागरिकताको आवश्यकताबारे जानकार नहुँदा नागरिकताविहीन थिइन्। त्यसैका कारण उनी सरकारले दिने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले हिजो घरमै गएर नागरिकता दिएका थिए।आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गरेका थिए । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए। त्यसपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी भएका छन्।