बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बरको जिप गएराति पौने १२ बजे बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा दुर्घटना भएको हो।
बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जिप दुर्घटना हुँदा दुईजना घाइते भएको बताए। उनका अनुसार सडकबाट १०० मिटर तल खसेको जिप दुर्घटना हुँदा चालक बैतडीको डिलाशैनी गाउँपालिका-१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।
घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा रेफर गरिएको छ। सहचालकको भने जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। जिपमा चालक र सहचालक मात्रै सवार थिए। जिप दुर्घटनाको कारण नखुलेको र घटनाकाबारेमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।