धनगढी : सम्झौताअनुसार साढे दुई वर्षमा बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको भवन साढे पाँच वर्षभन्दा बढी समय बित्दासम्म अधुरै छ । निर्माण कम्पनीको लापरबाहीले लामो समयसम्म भवनको काम अलपत्र पर्दा अस्पताललाई भने भवन अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ । भवन अभाव भएपछि अस्पतालले अधुरो भवनका केही कोठाबाट ओेपिडी सेवा सुरु गरेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीको भवन निर्माणका लागि पाँचौँपटक थप गरिएको अवधि गत २५ असारमा सकिएको छ, तर काम सकिएको छैन । अझै करिब १५ प्रतिशत काम बाँकी रहेको संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ । १८ करोड ७४ लाख २८ हजारको लागतमा दुईतले भवन निर्माण गर्न रबिना–थेगिन जेभीसँग २८ कात्तिक ०७४ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २७ वैशाख ०७७ मै भवन निर्माणको काम सम्पन्न हुनुपर्ने हो । ५ पटक म्याद थप हुँदा समेत निर्माण कम्पनिले काम सम्पन्न गर्न सकेको छैन । झ्याल, ढोका लगाउने, टायल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, बिजुलीबत्ती जडान गर्नेलगायत ‘फिनिसिङ’का काम बाँकी रहेका संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका सुचना अधिकारी सौरभ कलौनीले बताएका छन् ।
आयोजनाका अनुसार असार ११ गतेदेखी हर्जाना शुरु भइसकेको निर्माण कम्पनिले म्याद थपका लागी फेरी निवेदन दिएको छ । ‘निर्माण कम्पनीले काम नगर्दा ढिलो भएको हो । पाँचपटक म्याद थप्दा पनि काम सकिएन । सुचना अधिकारी कलौनीले भने “अब समयमै काम पूरा नगरेबाफत ठेकेदारले दैनिक जरिवाना तिरेर काम गर्नुपर्ने नियम छ, ठेक्का रकमको ०.०५ प्रतिशत दैनिक जरिवाना तोकिएको र छ महिनासम्म त्यसरी पनि काम पूरा नगरे ठेक्का तोडिने छ ।”
भवनमा विद्युतीकरणको डिजाइन परिवर्तन र निर्माण अवधि लम्बिँदा भवनको लागत २१ करोड रुपैयाँ पुगेको छ । तत्कालीन सेती अञ्चल अस्पतालको सेवा विस्तारका लागि सरकारले भवन निर्माणको योजना ल्याएका थियो । सेती अहिले प्रदेशमातहत छ । भवनको अभाव भएपछि अस्पतालले अधुरो भवनबाटै ओपिडी सेवा सुरु गरेको छ । केही कोठामा निर्माण कम्पनीले रङरोगनसँगै मार्बल लगाएपछि अस्पतालले हालै ओपिडी सुरु गरेको हो । यसअघि ओपिडी सञ्चालन गर्दै आएको भवन सडकको क्षेत्राधिकारभित्र परेपछि धनगढीको सडक विस्तारका क्रममा भत्काउनु परेकाले अधुरो भवनबाटै सेवा सुरु गरिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी मेखराज उपाध्यायले बताए ।
‘हस्तान्तरण नहुँदै भवन प्रयोग गर्न नहुने हो भएपनि अस्पतालले भवन अभावमा अधुरा भवनबाटै सेवा शुरु गरेको छ । पानी तथा सौचालय अभाव भएपनि अस्पतालले अधुरो भवनबाट सेवा शुरु गरेको हो । अस्पतालका दुईवटा भवनमा मेडिकल र सर्जिकल वार्ड सञ्चालन भइरहेका छन् । अस्पताल ब्यवस्थापन समिति अध्यक्ष निर्मल शाहका अनुसार डायलाइसिस र आइसियूका लागि पनि ठाउँ साँघुरो भएको छ । हस्तान्तरण भए एमआरआई मेसिन पनि नयाँ भवनमा राखिने उनले बताए ।
यो भवन निर्माण सम्पन्न नभएकै कारण अस्पताललाई सेवा प्रवाहमा निकै कठिनाई भएको छ शाहले भने “आयोजना कार्यालयले निर्माण कम्पनिलाई चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुपर्ने हो ताकेता गर्नुपर्ने हो तर त्यो गरेको पाइएन त्यसै कारण हामीले दुख खेप्नुपरेको छ, अब कुन निकायले कसरी गर्ने हो चाँडो भवन निर्माण कार्य सम्पन्न हुनुपर्छ नत्र सुदूरपश्चिमका लाखौँ जनताको स्वास्थ्य उपचारमा समस्या हुने देखिन्छ ।”
प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट पनि दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने गर्छन् । निर्माण कम्पनिले अग्रिम भुक्तानी लिएर काम अलपत्र छोड्ने प्रबृतीले सेती अस्पतालको भौतिक ब्यवस्थापनमा निकै चुनौती भएको छ ।