डोटी। शिवशिखर सहकारी संस्थाले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा ८ सय १८ जनाले उजुरी दिएका छन्। दिपायलको पिपल्लामा शाखा कार्यालय रहेको सहकारीमा उजुरी दिएकाहरुले ६ करोड ४० लाख ६२ हजार ९ सय ९० रुपैयाँ ठगिएको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार उजुरी आउनेक्रम निरन्तर छ । अहिले उजुरी लिने काम मात्रै भएको र थप प्रकृयाका लागि पछि केन्द्रबाट आउने आदेश अनुसार हुने उनको भनाई छ। प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका सहायक प्रहरी निरीक्षक धिरेन्द्र धामीका अनुसार अहिलेसम्म आएका उजुरीमा सबैभन्दा धेरै १२ लाख ४५ हजार ठगीएको उजुरी छ।
भक्तुपरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका देशभर ३५ जिल्लामा शाखा रहेका छन्। शिवशिखर सहकारीबाट कोही ठगिएको भए जाहेरी दिन गएको जेठ ६ गते सार्वजनिक सूचना गरिएको थियो। सूचनामा हदम्याद तोकिएको छैन। बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परीसकेका छन्।