धनगढी। धनगढी उपमहानगरपालीकामा समायोजन तथा समायोजन मिलान भइ कार्यरत स्वास्थ्यकर्मीको हाजिरी रोक्दा वडामा स्वास्थ्यकर्मीको अभाब भएको छ। उपमहानगरपालिकाले स्वास्थ्यकर्मी अपुग रहेकै अवस्थामा समायोजन तथा समायोजन मिलान भइ कार्यरत स्वास्थ्यकर्मीहरुको हाजिरी रोक्दा वडामा स्वास्थ्यकर्मीको अभाब भएको हो।
स्वास्थ्यकर्मीहरुको हाजिरी रोक्दा उपमहानगरपालिकाको १९ वटै वडा मार्फत सञ्चालन गर्ने नियमित खोप अभियान प्रभावित बनेको हो। जनशक्ति अभाव हुँदा साउन महिनामा केही वडामा ढिला गरि खोप अभियान सञ्चालन गरिन लागेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताएका छन्। उपमहानगरपालिकाले वडामा जनशक्ति अभाव भएपछि साउन महिनामा हरेक वडामा एकै साथ अभियान सञ्चालन गर्ने खोप कार्यक्रमको नयाँ तालिका तयार गरेको छ।
खोपबाट कुनै पनि बालबालिका नछुट्नु भन्ने लक्ष्यसहित उपमहानगरले एक पटक सबै वडामा खोप अभियान सञ्चालन गर्दै आएको थियो । स्वास्थ्य शाखा प्रमुख अवस्थीले उपमहानगरपालिकाको खोप कार्यक्रम अनुसार २, ३, १७ र १९ नम्बर वडामा ढिला गरी सञ्चालन हुने बताए। आजदेखि बाँकी वडामा नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । यस्तै केही वडामा ५ देखि त केही वडामा भोली (६ गते) तथा केही वडामा ९ र १० गते खोप कार्यक्रम गर्न लागेको उनले जानकारी दिए। उनले सबैलाई खोपको पहुँचमा ल्याउन सबै वडामा एक पटक अभियान सञ्चालन गर्नुपर्ने भएपनी जनशक्ति व्यवस्थापनमा ढिलाई भएको बताए ।
यसले केही बालबालिका खोपको पहुँचबाट वञ्चित हुने देखिएको छ। यता धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेर खोप कार्यक्रमलाई सहयोग गर्न नीजि अस्पतालका कर्मचारीलाई राखेको पाइएको छ । कर्मचारीहरुले शुक्रबार पाँचौ दिनसम्म पनि धर्ना जारी राखेका छन् । स्वास्थ्यकर्मी अभाव भएपछि निसर्ग, माया मेट्रो, कैलाली अस्पताल लगायतबाट कर्मचारीलाई भाडामा लिएर खटाएको छ । धनगढीस्थीत एक निजी अस्पतालमा कार्यरत ज्ञानु कुँवरलाई धनगढी वडा नम्बर ८ आधारभुत स्वास्थ्य केन्द्रमा खोप अभियानका लागि जिम्मेवारी दिइएको छ ।
उनको कुनै पनि दरबन्दी धनगढी उपमहानगरपालिकामा छैन् । यस्तै धनगढीको वडा नम्बर ११ स्थित शहरी स्वास्थ्य केन्द्रमा दिपेन्द्र चौधरीलाई उपमहानगरपालिकाले खटाएपनी उनी नीजि अस्पतालका कर्मचारी रहेका छन् । सो केन्द्रमा एक जनामात्र स्वास्थ्यकर्मी रहेको छ । स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले खोप अभियानलाई सहयोग पुर्याउन नीजि अस्पतालमा कार्यरत कर्मचारीलाई खटाइएको बताए । उनले खोप अभियानलाई सहयोग पुगोस भनेर केही दिन अघि धनगढीले नीजि अस्पतालमा कार्यरत कर्मचारीलाई तालिम पनि दिएको बताए। नीजि अस्पतालबाट खटिएका कर्मचारीले खोप नलगाउने र नाम दर्ता, कार्ड वितरण लगायतमा सहयोग गर्ने बताए । उनले स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी अभाव भएकोले उनीहरुसंग सहयोग लिइएको बताए।
नीजि अस्पतालसँगै धनगढी उपमहानगरले स्वास्थ्य कार्यालय कैलालीकी ल्याब एसिस्टेन्ट ममता खत्रीलाई पनि स्वास्थ्य केन्द्रमा खटाएको छ। धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिरी रोकेर नीजि अस्पतालका तथा खोपमा अयोग्य व्यक्ति प्रयोग गरिरहेको स्वास्थ्यकर्मीहरुको आरोप छ। धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन् । स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन नदिएको बताउँदै अहिले पनि धर्ना जारी रहेको बताए । धनगढीका १९ वडा स्वास्थ्य संस्थामध्ये अहिले केही स्वास्थ्य संस्थामा करारका कर्मचारीले सेवा दिइरहेको धनगढीका स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । अहिले पनी एक स्वास्थ्य संस्थामा एकदेखि तिन जना स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेको उनको भनाई छ।