धनगढी। धनगढीस्थीत सेती प्रादेशिक अस्पतालको नयाँ भवन साढे ५ वर्षसम्म अधुरै रहेको छ । २०७४ कात्तिक २७ गते २१ करोडको लागतमा अस्पतालमा दुई तले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न ठेक्का सम्झौता भएपनी हालसम्म भवन निर्माणको काम अधुरै रहेको हो ।
सम्झौतामा ३० महिनामा निर्माण कम्पनीले सबै काम सम्पन्न गरेर भवन सेती अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख भएपनी ठेक्का सम्झौता अनुसार सुरु देखी नै काम बिस्तार गर्न ढिलाई गरिएको थियो । टेण्डर हात पारेको काठमाडौंको रवीना थेगिम जेभीले अस्पताल भवनमा ५ बर्षसम्म ढलानको काम समेत पूरा गरेको थिएन् । सम्झौताअनुसार सेती प्रादेशिक अस्पतालको भवन साढे दुई वर्षमा बन्नुपर्ने थियो । हाल साढे पाँच वर्षभन्दा बढी समय बित्दासम्म अधुरै राख्नु निर्माण कम्पनीको लापरबाही रहेको अस्पतालले जनाएको छ।
अस्पताल भवन निर्माणको काम अलपत्र पर्दा सेवा प्रवाहमा समस्या भइरहेको बताइएको छ । धनगढीको सडक बिस्तार क्रममा अस्पतालको ओेपिडी भवन भत्किएपछि भवन अभाव भएको छ । जस कारण अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरिएको छ । प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट पनि दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तर आवश्यक ठाउँ अभाबले उपचारमा सहजता प्रदान गर्न समस्या भैरहेको छ ।
भवन निर्माणका लागि पाँचौँपटक थप गरिएको अवधि गत २५ असारमा सकिएकोमा काम भने नसकिएको हो । संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले सम्झौताअनुसार २७ वैशाख ०७७ मै भवन निर्माणको काम सम्पन्न हुनुपर्ने भएपनी अझै करिब १५ प्रतिशत काम बाँकी रहेको छ । सूचना अधिकारी सौरभ कलौनीले अस्पतालमा झ्याल, ढोका लगाउने, टायल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, बिजुलीबत्ती जडान गर्नेलगायत ‘फिनिसिङ’का काम बाँकी रहेको बताए । निर्माणका क्रममा विद्युतीकरणको डिजाइन परिवर्तनबाहेक ढिलो हुनुपर्ने कारण नभएपनी अहिले पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको बताए ।
अब समयमै ठेकेदारले काम पूरा नगरे ठेक्का रकमको ० दशमलब ०५ प्रतिशत दैनिक जरिवाना गरिने र छ महिनामा काम पूरा नगरे ठेक्का तोडिने चेतावनी दिए । भवनमा विद्युतीकरणको डिजाइन परिवर्तन र निर्माण अवधि लम्बिँदा भवनको लागत २१ करोड रुपैयाँ पुगेको छ । तत्कालीन सेती अञ्चल अस्पतालको सेवा विस्तारका लागि सरकारले भवन निर्माणको योजना थियो । सेती अस्पताल अहिले प्रदेश मातहतमा रहेको छ ।
केही कोठामा रङरोगन र मार्बल लगाइएपछि अस्पतालले हालै अधुरो भवनबाट ओपिडी सुरु गरेको अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले जानकारी दिएका छन् । उनले भवन हस्तान्तरण नहुँदै सेवा सुरु गर्नुको कारण दुवै भवनमा ठाउँ अभाब रहेको बताए । नयाँ भवनमा पानी,शौचालय लगायत आवश्यक सामाग्रीका बिच मेडिकल र सर्जिकल वार्ड सञ्चालनको सेवा सञ्चालन भइरहेको बताए । अस्पताल भवन हस्तान्तरण भए आइसियू र डायलाइसिस वार्ड तथा एमआरआई मेसिन त्यहाँ राख्न सकिने भएपनी अहिले भवन पुर्ण रुपमा नबनेकाले त्यो अवस्था नभएको बताए ।